२००७ सालदेखि आजसम्म नेपाली जनताले शुरु गरेको हरेक क्रान्तिलाई यहाँका राजनैतिक पार्टीले कब्जामा पारेर त्यसलाई राज्यसत्ता प्राप्तिको सिंढी बनाएर अन्त्यमा स्खलित भएका छन् । नेपालमा भएका कुनै पनि क्रान्तिले नत देश शक्तिशाली बन्न सक्यो न त जनता समृद्ध र स्वतन्त्र भए । सत्तामा प्राप्त गर्न र प्राप्त भएको सत्तालाई बलात बचाउन उनीहरुले जस्तो सुकै हत्कण्डा गर्नु परे पनि बाँकी राखेनन् ।
नेपालमा अहिले दृश्यमा भएका सबै दलले सत्ता प्राप्तिका लागि हत्याहिंसाको बाटो अवलम्बन गरे । कांग्रेस, कम्युनिष्ट, जसपा यी सबै दलले हत्याहिंसाबाट शक्ति प्राप्त गरेका छन् । र, हत्याहिंसाबाट शक्ति प्राप्त गर्ने कहिल्यै पनि पूर्ण रुपमा लोकतान्त्रिक बन्न सक्दैन भन्ने मेरो मान्यता छ । उसमा एक अज्ञात डर रहने गर्छ जसको कारणले ऊ निषेधको राजनीतिमा विश्वास गर्छ । नेपालका सबै दल र तिनका नेतामा भएको यो एक प्रकारको साइकलजीकल समस्या हो । हाम्रा दल र तिनका नेतामा विद्यमान अज्ञात डरले उनीहरुमा असुरक्षाको भावना विकसित भएको छ । जुन भावनाले उनीहरु आत्मकेन्द्रित र सत्ताकेन्द्रित राजनीति गर्न अभिशप्त छन् । सत्तालाई नै सर्वोपरि मान्ने भएकाले सत्ताबिहिनताको अवस्था उनीहरुलाई आफ्नो महत्ताविहिनताको अवस्था जस्तो लाग्छ परिणाम सत्ता पाउन र पाएको सत्ता बचाउन उनीहरु जेसुकै गर्न र गराउन तयार हुन्छ ।